सुम्निमा साँझमा ‘सागर सरी…’

(न्युयोर्क) — ‘आउँदै हुनुहुन्छ, चिरपरिचित उनै राजेशपायल राई ।’ उद्घोषकको घोषणा नै काफी थियो, रंगीन माहोललाई ऊर्जा थप्न । सेतो कोट, कालो पाइन्ट, कालो जुत्ता अनि गलामा हरियो गलबन्दी भिरेका ‘राई इज किङ’ अर्थात् गायक राजेशपायल राई स्टेजमा उत्रेका मात्र के थिए, ताली र हुटिङको गडगडाहाटले हल नै गुन्जियो । उसो त मोहाल पहिलै रंगीन थियो । केवल, प्रतीक्षा थियो त राजेशपायल राईको । लगत्तै उनी यसरी गुन्जिए-
‘‘सागर सरी चोखो माया, तिमीलाई दिउला,
यो ज्यानले साथ दिए,
तिमीसँगै जिउला,
तिम्रो नभई मरेछु भने,
अर्को जुनी लिउला…’
राईको स्वरले मन्त्रमुग्ध मोहाल थप रोमाञ्चित हुँदै नाचगानमा उत्रिएको थियो । क्रिसमस इभको न्युयोर्कको मंगलबारे रात, जाडोले कठ्यांगि्रँदै गर्दा, ज्याक्सन हाइटको बेलारुजभित्रको नेपाली माहोल तात्दै थियो । सयौं आप्रवासी नेपाली भीडमा ‘भर्सटाइल सिङ्गर’ राईले एकपछि अर्को प्रस्तुति गर्दै गर्दा, गेटबाट दर्शकहरू भित्रिने क्रम पनि जारी थियो ।
किरात राई सोसाइटी अफ अमेरिकाले गरेको ‘सुम्निमा साँझ’ को एघारौं संस्करणमा गायक राईले मंगलबारको रातलाई यसरी थप रोमान्टिक बनाए ।

‘सर सर, माया, वर वर,
फिका फिका, मेरो जीवनमा,
मायाको रंग भर…
हरेक अंग्रेजी वर्षको अन्त्यमा गरिँदै आएको ‘सुम्निमा साँझ’ मा स्थानीय कलाकारहरूले पनि विभिन्न खाले सांगीतिक प्रस्तुति दिएका थिए । साकेला नृत्य, लोक गीत एवं आधनिक गीत र नृत्यहरू प्रस्तुत गरेका गरिएको थियो । कार्यक्रमलाई दुई भागमा बाँडिएको थियो । पहिलो सत्रमा संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रमुख अमृत राईले दीप प्रज्ज्वलन गर्दै सांगीतिक उद्घाटनको कार्यक्रम गरेको थिए । दोस्रो सत्र, पूर्णतः सांगीतिक मोहालमा केन्द्रित थियो ।
कान्तिपुर दैनिकबाट साभार